आदिवासी युवतीको ह-त्याको विरोधमा दलसिंहपाडामा सडक अवरोध
दलसिंहपाडा : दलसिंहपाडा नयाँ लाइनका एकजना २२ वर्षीय आदिवासी युवतीको शव मङ्गलबार राती ११ बजी दलसिंहपाडा चियाकमानको सेक्सनमा फेला परेपछि दलसिंहपाडा क्षेत्रमा सनसनी फैलिएको छ। बुधबार बिहान मृतक युवतीको परिवार र गाउँलेहरूले न्यायको माग गर्दै सडक जाम गरे। प्राप्त जानकारीअनुसार, दलसिंहपाडा नयाँ लाइन निवासी एकजना २२ वर्षीय युवती मङ्गलबार बिहान ११.३० बजे घरबाट साइकल लिएर निस्केकी थिईन्।
तर साँझसम्म पनि युवती घर फर्केर नआउँदा परिवारले तिनको खोजीमा निस्कँदा अन्ततः राती ११ बजे कमानको एउटा सेक्सनको नालामा युवतीको शव फेला परेको थियो। उक्त शव फेला परेपछि परिवार सदस्यले युवतीको हत्या दलसिंहपाडा बजार लाइन निवासी बाबलु तेलीमाथि हत्याको शङ्का गरेको छ भने आरोपी बाबलु तेलीलाई जयगाउँ थानाको पुलिसले पक्राउ गरेको बताइएको छ। यता विक्षुब्ध गाउँलेहरूले युवतीलाई सामुहिक दुष्कर्म पश्चात घिच्रो निमोठेर हत्या गरिएको आशङ्का गरेका छन् भने आरोपीलाई फाँसीको सजायको माग गर्दै दलसिंहपाडा सार्क रोड अवरोध गरेका थिए। यद्यपि पुलिसले उचित न्याय दिने आश्वासन दिए पश्चात सडक जाम खोलाउन पुलिस सफल भएको थियो।