कालचिनीः सरकारी रासनको वितरणमा अनियमितता अनि रासन सामग्रीमा पाइने चामलको घटिया गुणवत्ता एवम् कहिले चामल मात्र त कहिले आँटा मात्र कहिले चिनी, तेल आदि सामग्री नदिएकोमा मंगलवार कालचिनी पोस्ट अफिस नजीक रहेको एउटा रासन वितरण केन्द्रमा उपभोक्ताहरूले व्यापक क्षोभ व्यक्त गर्दै रासन दोकान बन्द गरे।
स्थानीय उपभोक्ताहरूले रासन कहिले पुरा अनि समान रुपमा नपाएको गम्भीर आरोप लगाएका थिए। अन्ततः घटनास्थलमा कालचिनी खाद्य अधिकारी र स्थानीय नेताहरूको पहलमा विक्षुब्ध उपभोक्ताहरूलाई सम्झाई बुझाई शान्त बनाएको थियो भने रासन समस्या लिएर रासन डीलरसँग सम्पूर्ण विवरण लिने खाद्य विभागले जनाएका छन्। अर्कोतिर रासन डीलरसित यस सम्बन्धमा जान्न चाहँदा तिनले कुनै प्रतिक्रिया दिएनन्।
