प्रधानमन्त्री मोदीको अलिपुरद्वारमा सभा


अलिपुरद्वारः आज प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अलिपुरद्वारमा एउटा आम सभालाई सम्बोधन गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सभामा विभिन्न विषयमा सम्बोधन गर्दै महत्वपूर्ण घोषणाहरू गरे। प्रधानमन्त्रीले आम सभालाई सम्बोधन गर्न अघि अलिपुरद्वार र कोचबिहार जिल्लाहरूमा १,०१० करोड़ लागतको सिटी ग्यास वितरण (सीजीडी) परियोजनाको शिलान्यास गरे। यस परियोजनाले २.५ लाखभन्दा बढी घरपरिवार,१०० भन्दा बढी व्यावसायिक प्रतिष्ठानहरू र १९ वटा सीएनजी स्टेशनहरू मार्फत पाइपलाइन ग्यास आपूर्ति गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्री मोदीले पश्चिम बंगालमा हिंसा,महिला सुरक्षाको अभाव,भ्रष्टाचार, विकासको अभाव र बेरोजगारी जस्ता पॉंच प्रमुख समस्याहरूको उल्लेख गरे। उनले तृणमूल कांग्रेस सरकारमाथि ती समस्याहरूको समाधानमा असफल भएको आरोप लगाउँदै कट मनीले बंगालको विकास हुन नसकेको उल्लेख गरे। प्रधानमन्त्री मोदीले ‘अपरेशन सिन्दूर’ अझै समाप्त नभएको स्पष्ट गर्दै पाकिस्तानलाई कड़ा सन्देश दिए। उनले भने, पाकिस्तानले बुझ्नुपर्छ, हामीले तीनपटक घरभित्र पसेर प्रहार गरेका छौं। उनले भारतीय सुरक्षाबलहरूले सीमापार आतंकवादी संरचनाहरू ध्वस्त पारेको उल्लेख गरे। स्वागत भाषणको क्रममा बंगाल विधानसभाका प्रमुख विपक्षी नेता शुभेन्दु अधिकारीले हरियाणा जितेको, बिहार पनि जित्ने र यसपछि पालो बंगालको भन्दै २०२६ मा बंगालबाट तृणमूलको जरा समेत उखेल्ने हुंकार गरे भने भाजपा सभापति डा.सुकान्त मजुमदारले पनि आगामी विधानसभा चुनाउ लिएर नै कुरा राखे।

Leave a comment