गोरुबथानमा वैकल्पिक नगदी खेती कफी खेती अनि यसको बजार व्यवस्थापनबारे कार्यशाला सम्पन्न

गोरुबथानमा वैकल्पिक नगदी खेती सम्बन्धी कार्यशाला

गोरुबथानः गोरुबथानमा वैकल्पिक नगदी खेतीको रुपमा कफीको सम्भावना रहेकोले यसलाई कसरी व्यवसायिक ढंगमा खेती गरेर स्थानीय मानिसहरूको आर्थिक अवस्था सबल बनाउन सकिन्छ भन्ने विषयबारेको खोजी अभियान आजदेखि व्यावहारिक तरिकाले शुभारम्भ भयो। खेतीलाई रहर होइन, व्यवसायिक तरिकाले गर्नुपर्छ भन्ने सोच लिएर आज कफी खेती अनि यसको बजार व्यवस्थापनमाथि यहाँको गोरुबथान खण्ड विकाश कार्यालयस्थित बीएडीपी हलमा कार्यशाला सम्पन्न भयो। गोरुबथान फ्यूचर भिजन, गोरुबथान पञ्चायत समिति, गोरुबथान खण्ड विकाश कार्यालयको संयुक्त आयोजनामा सम्पन्न यस कार्यशालामा Himalayan Cornerstone Company का निदेशक Young Geu Seo, व्यवस्थापक उमेश गुरुङ स्रोत वक्ताको रूपमा उपस्थित थिए भने गोरुबथान पञ्चायत समिति सभापति सूर्यमणि राई, बीडीओ गोरुबथान शोभन दास आदिको विशेष उपस्थिति रहेको थियो।
गोरुबथान फ्यूचर भिजनका पदाधिकारी सुरज राईले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निदेशक Young Geu Seo ले चियाको तुलनामा कफीको विश्व बजारमा धेरै माग रहेको बताए। आफु भारतमा यस व्यवसायमा विगत १० वर्षदेखि लागेको अनुभवहरू साझा पनि गरे। भारतमा कफी दक्षिण भारतमा मात्र व्यावसायिक रुपमा गरिने जानकारी गराउँदै देशका अन्य हिस्सामा पनि यसलाई व्यवसायिक तरिकाले गर्न सकिने बताए। दार्जिलिङ, कालेबुङ पनि कफी खेतीको निम्ति अनुकूल रहेकोले यसको खेती अब व्यवसायिक ढंगमा गर्नुपर्ने सुझाव राखे। यसको निम्ति आवश्यक पर्ने तक्निकीलगायत अन्य सहयोगहरू कृषकहरूलाई गर्न आफुहरू तयार रहेको बताए।

गोरुबथानमा वैकल्पिक नगदी खेती सम्बन्धी कार्यशाला
गोरुबथानमा वैकल्पिक नगदी खेती सम्बन्धी कार्यशाला


त्यसरी नै अर्का वक्ता कम्पनीका व्यवस्थापक उमेश गुरुङले सम्बोधनमा कफीको प्रजाति र मौसम अनि altitude हेरेर कुन प्रजाति रोप्नु सकिन्छ भन्ने विषयमा जानकारी दिए। अहिले निलगिरी एरपविका प्रजातिको कफी कृषकहरूको लागि सबैभन्दा लाभप्रद हुने बताए। हाइब्रिड प्रजातिको यो बोटले रोपेको २ वर्षमा फल्न शुरु गर्ने जानकारी गराउँदै शुरुमा एउटा बोटले १ केजीसम्म फल्ने गरेको र ५/६ वर्ष पुगेको ५ केजीदेखि माथि फल्ने बताए। अर्कोतिर कफी खेती सुपारी बारीभित्र पनि रोप्न सकिने तिनले थप जानकारी गराए। त्यसरी नै तिनले यसलाई रोप्ने तरिका, मौसम अनि गर्नुपर्ने कतिपय बुनियादी देखरेखबारे पनि बताए। कफी खेती अनि यसको बजार व्यवस्थापनमाथि राखिएको कार्यशालालाई सम्बोधन गर्दै पञ्चायत समिति सभापति सूर्यमणि राईले यस्ता कार्यक्रमहरूले कृषकहरूलाई मात्र नभएर क्षेत्रको आर्थिक अवस्थालाई पनि फाइदा पुग्ने बताए। स्वनिर्भर, स्वालम्वी एवं सबल गोरुबथानको अवधारणालाई आजको कार्यक्रमले दिशा निर्देशन गर्ने सभापति राईले विश्वास प्रकट गरे। आजको समय तक्निकीको रहेकोले कृषकवर्गले कृषिमा यसलाई कसरी प्रयोग गरेर आफुलाई लाभ पुराउन सकिन्छ भन्ने विषयमा पनि सोच्नुपर्ने आह्वान गरे। अबको कृषकहरू पारम्पारिकबाट माथि उठेर प्रोग्रेसिप हुनुपर्ने सुझाव राख्दै मौसम परिवर्तनसँगै वैकल्पिक खेतीलाई पनि समयमै स्वीकार गरेर अघि बढे कृषकवर्गलाई कहिल्यै नोक्सानी नहुने बताए। आज जुन कार्यक्रममार्फत पहल गरिँदैछ त्यो यसैको उदाहरण रहेको बताउँदै यसबाट गोरुबथानका कृषकहरूले फाइदा लिनुपर्ने बताए।

गोरुबथानमा वैकल्पिक नगदी खेती सम्बन्धी कार्यशालामा उपस्थित समूह
गोरुबथानमा वैकल्पिक नगदी खेती सम्बन्धी कार्यशालामा उपस्थित समूह


त्यसरी नै अर्का वक्ता गोरुबथान खण्ड विकाश अधिकारी शोभन दासले उपस्थित कृषकहरूलाई सम्बोधन गर्दै अबका कृषकहरूले बदलिँदो मौसम अनि बजारको माग हेरेर उत्पादन गर्नुपर्ने सुझाव राखे। कफी खेती गोरुबथानको निम्ति नौलो नरहेको बताउँदै यसलाई अब यहाँका कृषकहरूले आफ्नो आर्थिक स्थितिलाई मजबूत गराउने दिशामा यसलाई व्यवसायिक तरिकाले गर्नुपर्ने बताए। विभागबाट कृषकहरूलाई चाहिने सहयोग दिन कार्यालय जहिले पनि तत्पर रहेको जनाए। कार्यक्रमलाई कम्पनीका सदस्य पवन राईले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा गोरुबथानका विभिन्न ठाउँहरूका सयअधिक कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन उपस्थित हुने सम्पूर्ण महानुभावहरूप्रति आयोजकको तर्फबाट गोरुबथान फ्युचर भिजनका सभापति पुरण राईले आभार प्रकट गरे।

याे पनि हेर्नुस्

Leave a comment