कालचिनीः खेलकूदलाई प्रोत्साहित गर्दै कालचिनी आउट डिभिजन बुखिमबारीका मजदुर मिलन क्लब, यूनाईटेड ब्रदर्सको आयोजनामा आइतवारदेखि नकआउट फूटबल टूर्नामेन्ट आरम्भ भएको छ। उक्त अवसरमा आज टूर्नामेन्टको उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा समाजसेवी पासाङ लामा उपस्थित रहेको थियो भने तिनको बाहुलीबाट भारतको राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय झण्डाको उत्तोलन गरिएको थियो। खेल सुरु हुन अघि नेपाल एफसी र कन्चनजङ्घा फूटबल क्लबको खेलाडीहरूलाई मुख्य अतिथि पासाङ लामा र अन्यान्य विशिष्ट अतिथिहरूले हात मिलाएर शुभकामना दिएको थियो। खेलको शुरुवात अघि नेपाली र आदिवासी नृत्य कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।
नेपाल एफसी र कन्चनजङ्घा फूटबल क्लबबीच चलेको रोमाञ्चक खेलमा अन्ततः नेपाल एफसीलाई कन्चनजङ्घा फूटबल क्लबले ४-३ को अन्तरले पराजित गरेको छ। आयोजक कमिटीको पक्षबाट दिवाकर गुरुङ र शम्भू शर्माले भोलि सोमबार दलसिंहपाड़ा एफसी बनाम कालेबुङ एससीबीच म्याच सम्पन्न हुनेछ। जम्मा १६ वटा टीमको फाइनल म्याच आगामी १७ अगस्तको दिन हुने जानकारी पनि आयोजक कमिटीको पक्षबाट मानसिंह लामा, कावाङ लामा, प्रताप लामा, प्रमेश गुरुङ, जमीर मगर र श्यामल लामाले थप जनाएका छन्।